साझा यातायातको डिजिटल टिकटिङमा एनआईएमबीको सहकार्य


काठमाडौं।

सार्वजनिक यातायातलाई प्रविधिमैत्री, पारदर्शी र आधुनिक बनाउने उद्देश्यले साझा यातायातले सञ्चालनमा ल्याउन लागेको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले सहकार्य गर्ने भएको छ।

साझा यातायातले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने अभियानअन्तर्गत एनआईएमबीलाई पेमेन्ट पार्टनर बैंकका रूपमा छनोट गरेको हो।

यस सहकार्यपछि साझा बसमा यात्रा गर्ने यात्रुले डिजिटल माध्यमबाट सहज, सुरक्षित र पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ। डिजिटल ट्रान्जिट टिकटिङ प्रणालीअन्तर्गत साझा बसका यात्रुको टिकट जारी गर्न बैंकका पीओएस (POS) मेसिन प्रयोग गरिने जनाइएको छ। यसबाट कार्ड तथा अन्य डिजिटल माध्यममार्फत भाडा भुक्तानी गर्न सकिनेछ।

साझा यातायातले आफ्नो डिजिटल रूपान्तरणअन्तर्गत आधुनिक कमाण्ड एन्ड कन्ट्रोल सेन्टरसहित विभिन्न प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ। डिजिटल टिकटिङ प्रणालीमार्फत सार्वजनिक यातायातमा नगदरहित यात्रालाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।

यस प्रणालीमा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेटिने साझा यातायातले जनाएको छ। सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको पहुँच विस्तारसँगै यात्रुलाई भाडा तिर्न थप सहज हुने अपेक्षा गरिएको छ।

एनआईएमबीका अनुसार सार्वजनिक यातायात क्षेत्रमा सुरक्षित तथा सहज डिजिटल कारोबार विस्तार गर्ने उद्देश्यले गरिएको यो सहकार्य महत्वपूर्ण पहल हो। बैंकले आफ्नो डिजिटल भुक्तानी पूर्वाधार तथा सेवामार्फत साझा यातायातका यात्रुलाई सहज भुक्तानी अनुभव प्रदान गर्न सहजीकरण गर्ने जनाएको छ।

साझा यातायात र एनआईएमबीबीचको सहकार्यले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार, नगदरहित कारोबारको प्रवद्र्धन, भाडा संकलनमा पारदर्शिता तथा यात्रु सेवाको आधुनिकीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।