काठमाडौं, (नेस) ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
सन् २०१७ देखि दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको ऊर्जा एक्स्पोलाई यसपटकदेखि इप्पानको स्थापना दिवससँग जोडेर हरेक वर्ष आयोजना गर्ने तयारी गरिएको छ ।
‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोमा १ सयभन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने आयोजकले जनाएको छ । स्टल बुकिङसमेत खुला गरिएको छ ।
यसपटकको एक्स्पोलाई परम्परागत जलविद्युत् प्रदर्शनीमा सीमित नराखी ‘एकीकृत हरित ऊर्जा बजार’को अवधारणामा अघि बढाइने भएको छ । जलविद्युतसँगै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, एआई तथा आईओटी प्रविधिलाई समेटिनेछ ।
पछिल्ला वर्षमा बाढी, पहिरो तथा गेग्रान बहावका कारण ऊर्जा पूर्वाधारमा पुगेको क्षतिलाई ध्यानमा राख्दै जलवायु–उत्थानशील ऊर्जा पूर्वाधार र विपद् जोखिम न्यूनीकरणका विषयमा समेत एक्स्पोमा बहस तथा अनुभव आदानप्रदान गरिने आयोजकले जनाएको छ ।एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि तथा उपकरण उत्पादक, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था र स्टार्टअपलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, बेलायतलगायत विभिन्न देशका कम्पनी तथा प्रतिनिधिमण्डलको सहभागिता गराउने तयारी छ । बीटुबी बिजनेस मिटिङ, ग्रीन इनर्जी कन्फरेन्स, स्टार्टअप हब, प्रत्यक्ष प्रविधि प्रदर्शन, आयोजना स्थल भ्रमण, ईभी ¥याली तथा नेटवर्किङ कार्यक्रमसमेत आयोजना गरिनेछ ।











प्रतिक्रिया