एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर सहयोग


काठमाडौं ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर तथा प्रोजेक्टर सहयोग गरेको छ।

विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले ती विद्यालयलाई आवश्यक शैक्षिक उपकरण उपलब्ध गराएको जनाएको छ।

बैंकका अनुसार सिराहाको धनगढीमाई नगरपालिका–९, चैनपुरस्थित श्री महावीर माध्यमिक विद्यालयलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरिएको छ। गत भदौ ३१ गते आयोजित कार्यक्रममा बैंकका लहान सर्कल हेड लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले विद्यालयका प्रधानाध्यापक रामकुमार ठाकुरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। विद्यालयमा हाल ६७२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

त्यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिका–२, कर्मलास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर सहयोग गरिएको छ। भदौ ३१ गते बैंकका मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयका प्रधानाध्यापक कलमबहादुर शाहीलाई सामग्री हस्तान्तरण गरेका थिए। उक्त विद्यालयमा २९३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–१९, जब्दीस्थित श्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालयलाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका इटहरी सर्कल हेड विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले भदौ ३१ गते विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा १६९ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

त्यस्तै, मोरङको सुनवर्षी नगरपालिका–२, अमरदहस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर सहयोग गरिएको छ। भदौ ३० गते आयोजित कार्यक्रममा बैंकका दमक सर्कल हेड भुपेन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक धनबहादुर बस्नेतलाई सामग्री हस्तान्तरण गरेका थिए। उक्त विद्यालयमा हाल १ हजार १५७ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बैंकले जनाएको छ।

बैंकले चारवटै विद्यालयलाई उपलब्ध गराएको शैक्षिक सामग्रीले विद्यार्थीको सिकाइ तथा पठनपाठनलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विद्यालयमा थप गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा समेत सहयोग पुग्ने बैंकको भनाइ छ।