सिटिजन्स बैंकद्वारा सुदूरपश्चिममा रणनीतिक समीक्षा तथा वृद्धि योजनाबारे सेमिनार


काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूबीच रणनीतिक समीक्षा तथा आगामी योजनाबारे सेमिनार आयोजना गरेको छ।

“सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)” नाम दिइएको सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा प्रदेशमा बैंकको व्यावसायिक सम्भावनालाई उपयोग गर्ने विषयमा समेत अन्तरक्रिया गरिएको थियो।

सिटिजन्स बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका सात जिल्लामा हाल १० वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्। बैंकले यसअघि बागमती, कोशी र मधेश प्रदेशमा पनि प्रदेशगत व्यावसायिक वृद्धि र रणनीतिक योजनासम्बन्धी कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। सोही कार्यक्रमको निरन्तरताका रूपमा सुदूरपश्चिममा सेमिनार आयोजना गरिएको हो। अन्य प्रदेशमा समेत क्रमशः यस्ता कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ।

कर्जा र निक्षेपमा वृद्धि

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा निक्षेप संकलन भने ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको जनाएको छ।

बैंकले डिजिटल तथा नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ सेवा तथा उत्पादनसमेत सञ्चालनमा ल्याएको जनाएको छ। फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले हालै नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट” तथा “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ।

त्यसैगरी, फ्रिलान्सरलाई लक्षित गरी “फ्रिलान्सर सेविङ्स अकाउन्ट” सुरु गरेको बैंकले जनाएको छ। मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा समेत सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।