काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुने गरी उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये बैंकको आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफाबाट २०८३ असार मसान्तमा कायम चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश रहेको छ।
बैंकका अनुसार ३.८० प्रतिशत बोनस शेयरबापत ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांशबापत ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा वितरण हुनेछ। यसअनुसार कुल प्रस्तावित लाभांश रकम ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ।
२० वर्षदेखि निरन्तर लाभांश
सिटिजन्स बैंकले २०६४ वैशाख ७ गतेदेखि बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ। सर्वसाधारणका लागि शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै बैंकले शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।
बैंकका अनुसार २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत रहेको बैंकले जनाएको छ।
डिजिटल बैंकिङमा जोड
बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित बैंकिङ सेवामा समेत विस्तार गरेको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको दाबी गरेको छ।
त्यस्तै, नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सुरु गरिएको छ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा पनि उपलब्ध गराएको जनाएको छ। साथै, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकका अनुसार हाल २० लाख ६४ हजारभन्दा बढी ग्राहक बैंकिङ सेवासँग जोडिएका छन्।
बैंकले विश्वकै प्रतिष्ठित भनिएको ‘बैंक अफ द इयर २०२४ र २०२५’ उपाधि प्राप्त गरेको पनि विज्ञप्तिमार्फत जनाएको छ।











प्रतिक्रिया