एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीका होटल तथा केवलकारमा १० प्रतिशत छुट


काठमाडौं।

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले आईएमई हस्पिटालिटीअन्तर्गत सञ्चालित विभिन्न होटल, रेष्टुरेन्ट तथा केवलकार सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंक र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकलाई उक्त छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा एनआईसी एशिया बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकका ग्राहकले आईएमई हस्पिटालिटीअन्तर्गत विभिन्न स्थानमा सञ्चालित होटल तथा रेष्टुरेन्टमा सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यो सुविधा इला होटल्स एण्ड रिसोर्ट, मौलाकालिका, इला कम्फोर्ट बाग्लुङ, इला कम्फोर्ट हर्कपुर तथा सेक एण्ड फेङ्ग रेष्टुरेन्ट, लाजिम्पाटमा लागू हुनेछ।

त्यसैगरी, ग्राहकले मौलाकालिका केवलकार र लुम्बिनी केवलकारको सेवा प्रयोग गर्दा पनि १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

उक्त छुट सुविधा लिन ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा ‘मोबैंक’, डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुपर्नेछ।

बैंकका अनुसार आईएमई हस्पिटालिटीसँगको सहकार्यले ग्राहकलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवामा छुटको सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेछ। यसबाट नगदरहित कारोबारलाई थप प्रोत्साहन मिल्ने बैंकको विश्वास छ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।