अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेश रोक


काठमाडौँ।

इरानका परमाणु प्रमुख मोहम्मद इस्लामीलाई अमेरिकी दबाबका कारण अस्ट्रियाको भियना प्रवेश गर्न रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ।

इस्लामी अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएइए) को वार्षिक साधारण सम्मेलनमा सहभागी हुन शनिबार नियमित उडानमार्फत भियना प्रस्थान गरेका थिए। तर, अस्ट्रिया प्रवेशका लागि आवश्यक भिसा नपाएपछि उनी तेहरान फर्किएका छन्।

इरानको विदेश मन्त्रालयले इस्लामी र उनको प्रतिनिधिमण्डललाई भिसा नदिनु अनुचित निर्णय भएको जनाएको छ। प्रवक्ता इस्माइल बाघाईले उक्त निर्णय अमेरिकी दबाबमा भएको दाबी गर्दै अस्ट्रिया सरकार पनि त्यसका लागि जिम्मेवार रहेको बताएका छन्।

घटनापछि इरानले तेहरानस्थित अस्ट्रियाका चार्ज डे’अफेयर्सलाई बोलाएर स्पष्टीकरणसमेत मागेको छ। एक कूटनीतिक स्रोतले पनि अमेरिकी दबाबका कारण इस्लामीलाई अस्ट्रिया प्रवेशमा रोक लगाइएको पुष्टि गरेको छ।

इरान आईएइएको सदस्य राष्ट्र हो। तेहरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ भने अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रमलाई सुरक्षा खतरा मान्दै आएका छन्।