काठमाडौं ।
यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः ड्रोन तथा क्षेप्यास्त्र हमला तीव्र पारेका छन् । पछिल्लो घटनाक्रममा साउदी अरबका दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा सुरक्षा चेतावनी जारी गरिएको छ भने महत्वपूर्ण तेल पूर्वाधारमाथि भएको आक्रमणले विश्व ऊर्जा बजारमा समेत दबाब बढाएको छ । साउदी नागरिक सुरक्षा निकायले सोमबार नाजरान, खमिस मुशायत, जाजान र अबहा क्षेत्रमा सम्भावित खतराको चेतावनी जारी गरेको थियो । केही समयपछि ती क्षेत्रका लागि ‘अल क्लियर’ अर्थात् तत्कालको खतरा टरेको सूचना पनि जारी गरिएको छ । इरानी सञ्चारमाध्यमहरूले अबहा र खमिस मुशायत आसपासका क्षेत्रमा नयाँ आक्रमण भएको दाबी गरेका छन् । यद्यपि ती दाबीको स्वतन्त्र पुष्टि तत्काल हुन सकेको छैन ।
यसअघि पनि हुथीहरूले साउदीका अबहा, खमिस मुशायत र जाजानलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेका थिए । साउदी नेतृत्वको गठबन्धनले ती आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग भएको जनाएको थियो । पछिल्लो संकटको सबैभन्दा गम्भीर पक्ष भने साउदीको तेल पूर्वाधारमाथि भएको आक्रमण बनेको छ । हुथी आक्रमणपछि साउदी अरबको करिब १,२०० किलोमिटर लामो तेल पाइपलाइनको सञ्चालन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो पाइपलाइनले साउदीको तेललाई फारसको खाडीबाट होर्मुज जलडमरूमध्य नछोई लाल सागरस्थित यान्बु बन्दरगाहसम्म पुर्याउने वैकल्पिक मार्गका रूपमा काम गर्छ । यसको सञ्चालन अवरुद्ध हुँदा विश्व बजारमा साउदीको तेल आपूर्तिमाथि थप दबाब पर्ने चिन्ता बढेको छ । साउदीको तेल पूर्वाधार र होर्मुज क्षेत्रमा जहाजमाथि भएका पछिल्ला आक्रमणपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढी बढेको छ । ओपेकका अनुसार करिब ३ प्रतिशतसम्म बढेर १०७ डलरभन्दा माथि पुगेको थियो भने अमेरिकी डब्लुपीआई पनि करिब २ दशमलव ९ प्रतिशतले उकालो लागेको थियो ।
ऊर्जा बजारका लागि यो घटनाक्रम थप संवेदनशील बनेको छ, किनकि एकातिर होर्मुज जलडमरूमध्यमा जहाज आवागमनमा जोखिम बढेको छ भने अर्कोतिर बाब–अल–मन्देब आसपास हुथी गतिविधि तीव्र भएको छ । साउदी सञ्चारमाध्यमका अनुसार यसअघि शनिबार जाजानको अल–तुवाल क्षेत्रमा हुथीहरूले प्रहार गरेको प्रक्षेप्यास्त्र खसेपछि दुई जना घाइते भएका थिए । प्रक्षेप्यास्त्रका कारण मस्जिद, केही भवन तथा सवारीसाधनमा क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको थियो ।
पछिल्ला घटनाक्रमले हुथी आक्रमण अब केवल सीमावर्ती सैन्य क्षेत्रमा सीमित नरही साउदीको ऊर्जा पूर्वाधार र रणनीतिक क्षेत्रमा समेत केन्द्रित हुन थालेको संकेत गरेको छ । साउदीमाथिको आक्रमणसँगै यमनभित्र सरकारी सेना र हुथीबीचको संघर्ष पनि तीव्र भएको छ । पछिल्लो समय हुथीहरूले लाल सागर क्षेत्रतर्फ आफ्नो प्रभाव विस्तार गर्दै महत्वपूर्ण रणनीतिक क्षेत्रहरूमा दबाब बढाएका छन् । यसले यमनको आन्तरिक युद्धलाई पुनः क्षेत्रीय शक्ति संघर्षको केन्द्रमा ल्याएको छ । साउदी अरब यमन सरकारको समर्थनमा रहेको छ भने हुथीहरू इरानसँग निकट सम्बन्ध राख्ने समूहका रूपमा चिनिन्छन् ।











प्रतिक्रिया