ब्रिक्स सम्मेलनमा आर्थिक सहकार्य र विश्वव्यापी द्वन्द्वबारे छलफल


नयाँ दिल्ली । 

चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्लीमा जारी सम्मेलनमा विश्व आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबीच आपसी सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले ब्रिक्सले विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रमा महत्वपूर्ण योगदान प्रतिनिधित्व गर्ने बताउनुभयो।सम्मेलनमा मध्यपूर्वको बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरिएको छ। रुससँग भारतको ऊर्जा सहकार्य, युक्रेन युद्ध तथा विश्वव्यापी ऊर्जा सुरक्षाका विषयमा समेत छलफल भएको छ।यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीबीच भएको भेटलाई विशेष महत्वका साथ हेरिएको छ।

दुई नेताले सीमा विवादको समाधान खोज्दै आपसी सहयोग र सम्बन्ध सुधारमा जोड दिएका छन्।चीन–भारतबीच सीमा विवाद, व्यापार घाटा तथा रणनीतिक प्रतिस्पर्धा कायमै रहे पनि पछिल्लो समय सम्बन्ध सुधारका प्रयास भइरहेका छन्। सम्मेलनले ब्रिक्स आर्थिक सहकार्यसँगै विश्व राजनीति, ऊर्जा, व्यापार र अन्तर्राष्ट्रिय व्यवस्थामा प्रभाव बढाउँदै गएको देखाएको छ।