सहयात्री सहकारीको संस्थागत पुँजीकोष १६ प्रतिशत


काठमाडौं ।

सहयात्री बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीकोष अनुपात करिब १६ प्रतिशत पुगेको छ। संस्थाको २१औँ साधारण सभामा अध्यक्ष खेमराज सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाको वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गरिएको छ।आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ४५ लाख रुपैयाँ, बचत ३२ करोड २१ लाख रुपैयाँ र ऋण लगानी ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ।

संस्थाको कुल वासलात ४० करोड ७८ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।कुल बचतमा नियमित बचतको हिस्सा ७२ प्रतिशत र आवधिक बचतको हिस्सा ९.३४ प्रतिशत रहेको छ भने नकमाउने सम्पत्ति ५ प्रतिशतभन्दा कम रहेको अध्यक्ष सुवेदीले जानकारी दिए। संस्थाले खराब ऋणका लागि ऋण नोक्सानी व्यवस्था गर्दै वित्तीय सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ।२०६३ सालमा २६ जना सदस्य र २६ हजार रुपैयाँ शेयर पुँजीबाट सुरु भएको संस्था हाल ४ हजार ४१७ सदस्यमा पुगेको छ। तीमध्ये ४ हजार ६५ जना महिला सदस्य छन्। संस्थाले ऋण लगानी र असुलीमा मात्र केन्द्रित नभई सदस्यमा स्वरोजगार तथा उद्यमशीलता विकास गरी जीवनस्तरमा सुधार ल्याउने उद्देश्य लिएको अध्यक्ष सुवेदीले बताए।

संस्थाले आर्थिक वर्ष २०८२/८३ मा बचत सुरक्षा, सुरक्षित तथा उत्पादनशील ऋण लगानी, खराब ऋण नियन्त्रण तथा असुलीमा सुधार, संस्थागत सुशासन, नियामकीय अनुपालना र कर्मचारीको दक्षता वृद्धिलगायत नौ वटा रणनीतिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ। तीन वर्षे रणनीतिक योजनामा संस्था तथा सेवाको सुदृढीकरण र जोखिम नियन्त्रण, डिजिटल विस्तार, व्यवसायिक वृद्धि तथा उत्कृष्टता, दिगोपन र संस्थागत नेतृत्वलाई समेटिएको छ।

सहकारी क्षेत्रमा देखिएका गलत अभ्यास, वित्तीय अपचलन र बढ्दो खराब ऋणका कारण समग्र सहकारी अभियानप्रति नै प्रश्न उठेको अध्यक्ष सुवेदीले बताए। आर्थिक मन्दी तथा वित्तीय कारोबारमा आएको संकुचनका कारण सदस्यबाट साँवा–ब्याज असुलीमा समस्या देखिएको उनको भनाइ छ।सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक विपिन कार्कीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले चालु अवधिमा आफ्नै भवन निर्माण गरी सदस्यलाई सेवा प्रदान गर्ने जनाएको छ।