जकार्ता ।
इन्डोनेसियाको जाभा सागरमा खराब मौसमका कारण सम्पर्कविहीन भएको ‘भर्गो ट्रान्सपोर्ट–८’ जहाजमा सवारमध्ये ११५ जनाको उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको पछिल्लो विवरण सार्वजनिक भएको छ। एक जना घाइते छन् र बाँकी यात्रुहरूको खोजी जारी छ।
सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ जाँदै गरेको जहाज आइतबार बिहान करिब २ बजे सम्पर्कविहीन भएको थियो। जहाजमा यात्रु तथा चालक दल गरी करिब २४०–२४३ जना रहेको विभिन्न स्रोतले जनाएका छन्।
जहाजको अन्तिम ज्ञात अवस्थिति बान्जारमासिनस्थित खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा जाभा सागरमा रहेको थियो। खराब मौसमको सामना गरेपछि जहाजसँग सम्पर्क टुटेको प्रारम्भिक जानकारी छ।
इन्डोनेसियाली खोज तथा उद्धार निकायले KN SAR Laksmana 241 लगायतका उद्धार साधन परिचालन गरी समुद्रमा खोजी तीव्र बनाएको छ। सुराबायाबाट समेत थप उद्धार टोली र जहाज पठाइएको जनाइएको छ।
खोज तथा उद्धार अभियान जारी रहेकाले मृतक तथा उद्धार गरिएका व्यक्तिको संख्या थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्। पछिल्लो विवरणअनुसार ठूलो संख्यामा यात्रु अझै खोजीको दायरामा छन्।











प्रतिक्रिया