न्युयोर्क —
सन् २००१ सेप्टेम्बर ११। अमेरिकाको इतिहासमा कहिल्यै नबिर्सिने त्यो बिहान, जब अपहरण गरिएका चार यात्रुवाहक विमानमध्ये दुई विमान न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरका ट्विन टावरमा ठोक्किए। केही घण्टामै विश्वकै शक्तिशाली मुलुकमध्ये एक अमेरिकाको मुटु मानिने न्युयोर्क भय, धुवाँ र चित्कारले भरियो।
अर्को विमान अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनमा ठोक्कियो भने चौथो विमान पेन्सिलभेनियाको स्याङ्क्सभिलमा खसेको थियो। उक्त आतंकवादी हमलामा करिब ३ हजार मानिसले ज्यान गुमाए।
घटना भएको २५ वर्ष पूरा भइसके पनि सेप्टेम्बर ११ को त्यो दिन अमेरिकी नागरिकका लागि अझै पीडादायी स्मृतिका रूपमा जीवित छ। २०२६ सेप्टेम्बर ११ मा न्युयोर्कको ग्राउन्ड जिरो, पेन्टागन र स्याङ्क्सभिलमा मृतकहरूको सम्झनामा विभिन्न स्मरण कार्यक्रम आयोजना गरिए।
न्युयोर्कमा मृतकका परिवारजनले पीडितहरूको नाम पढेर सुनाएका थिए। ट्विन टावरमा पहिलो विमान ठोक्किएको समयलाई सम्झँदै मौनधारण गरिएको थियो। यस वर्ष ९/११ पछि विषाक्त धुलोको सम्पर्कमा आएर पछि मृत्यु भएका व्यक्तिहरूलाई समेत सम्झँदै थप मौनधारण गरिएको थियो।
९/११ को घटनाले अमेरिकाको सुरक्षा नीति मात्र होइन, विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत गहिरो रूपमा परिवर्तन गर्यो। त्यसपछि अमेरिकाले आतंकवादविरुद्ध विश्वव्यापी अभियान अघि बढायो भने विमानस्थल सुरक्षा, सीमा निगरानी र राष्ट्रिय सुरक्षाका क्षेत्रमा व्यापक परिवर्तन गरियो।
२५औँ स्मृति दिवसका अवसरमा न्युयोर्कको ग्राउन्ड जिरोमा मृतकहरूको नाम पढेर सुनाइएको थियो। परिवारका सदस्य तथा अधिकारीहरूले सहभागी भएर दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। हमलाका विभिन्न क्षण सम्झाउँदै मौनधारणसमेत गरिएको थियो।
पेन्टागनमा पनि विशेष स्मरण कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँ विमान ठोक्किँदा पेन्टागनभित्र तथा विमानमा रहेका गरी १८४ जनाको मृत्यु भएको थियो। पेन्सिलभेनियाको श्याङ्क्सभिलमा भने अपहरण गरिएको चौथो विमानमा ज्यान गुमाएका यात्रु तथा चालक दलका सदस्यहरूको सम्झनामा कार्यक्रम गरिएको थियो।
२५ वर्ष बितिसक्दा पनि ९/११ को घटनाले अमेरिकी समाज र विश्व राजनीतिमा गहिरो प्रभाव पारिरहेको छ। स्मृति दिवसका कार्यक्रमहरूले उक्त घटनामा ज्यान गुमाएका मानिस, उनीहरूका परिवार तथा उद्धार र राहत कार्यमा खटिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गरेका छन्।











प्रतिक्रिया