स्वीडेनमा आज निर्णायक निर्वाचन, दक्षिणपन्थी दल सरकारमा जाने सम्भावना


स्टकहोम —

स्वीडेनमा आज, सेप्टेम्बर १३ मा संसदीय निर्वाचन हुँदैछ। यस निर्वाचनलाई युरोपको राजनीतिक दिशाका लागि समेत महत्वपूर्ण मानिएको छ। निर्वाचनमा ३४९ सदस्यीय संसद्का लागि मतदान हुँदैछ भने सोही दिन स्थानीय तह र क्षेत्रीय तहका निर्वाचनसमेत हुँदैछन्।

यसपटकको निर्वाचनमा सबैभन्दा बढी चासो दक्षिणपन्थी ‘स्वीडेन डेमोक्र्याट्स’ पार्टीप्रति देखिएको छ। प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन विजयी भएमा उक्त पार्टीलाई पहिलोपटक सरकारमा सहभागी गराउने प्रतिबद्धता गरिएको छ।

यसअघि ‘स्वीडेन डेमोक्र्याट्स’ ले क्रिस्टर्सन नेतृत्वको अल्पमत सरकारलाई संसद्मा समर्थन गर्दै आएको थियो। तर यसपटक भने पार्टी प्रत्यक्ष रूपमा सरकारमा सहभागी हुने सम्भावना देखिएको छ।

निर्वाचनमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सनको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री माग्दालेना एन्डरसन नेतृत्वको मध्य–वामपन्थी गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। पछिल्ला मत सर्वेक्षणमा मध्य–वामपन्थी पक्ष केही अगाडि रहे पनि अन्तर निकै साँघुरो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

निर्वाचनको मुख्य बहस आप्रवासन, अपराध नियन्त्रण, सामाजिक कल्याण, कर तथा युक्रेनप्रतिको समर्थनलगायत विषयमा केन्द्रित छ। दक्षिणपन्थी पक्षले आप्रवासन नियन्त्रण र गिरोह अपराधविरुद्ध कडा नीति अघि सारेको छ भने विपक्षी दलहरूले सामाजिक कल्याण र उदार लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिएका छन्।

स्वीडेनमा दक्षिणपन्थी ‘स्वीडेन डेमोक्र्याट्स’ सरकारमा प्रवेश गर्न सफल भएमा यो देशको राजनीतिमा महत्वपूर्ण परिवर्तन हुने र युरोपमा बढ्दो दक्षिणपन्थी प्रभावको अर्को उदाहरण बन्ने विश्लेषण गरिएको छ।

स्रोत: रोयटर्स, स्वीडेन संसद्