एनआईसी एशिया बैंकद्वारा पर्वत, बर्दिया र जुम्लाका स्वास्थ्य तथा शैक्षिक संस्थालाई सहयोग


काठमाडौँ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत, बर्दिया र जुम्लाका स्वास्थ्य तथा शैक्षिक संस्थालाई आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको छ।

बैंकले फलेवास नगरपालिका–४, पर्वतस्थित मुडिकुवा स्वास्थ्य चौकी, बारबर्दिया नगरपालिका–६, बर्दियास्थित श्री अंशुवर्मा माध्यमिक विद्यालय र चन्दननाथ नगरपालिका–१, जुम्लास्थित श्री मालिका आधारभूत विद्यालयलाई सहयोग गरेको हो।

मुडिकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

बैंकले ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको मुडिकुवा स्वास्थ्य चौकीलाई बिरामीको उपचारमा आवश्यक विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको जनाएको छ।

उक्त सामग्रीमा निडल कटर, निडल बर्नर, ह्विल चेयर, ईसीजी मेसिन, बीपी सेट, स्टाडियोमिटर, स्क्रिन, फुट स्टेप, पोर्टेबल लाइट, फेटल डोप्लर, स्टेनलेस स्टिल ड्रेसिङ चार्ट तथा वाटर डिस्पेन्सर लगायत छन्।

भदौ २५ गते आयोजित कार्यक्रममा बैंकका पोखरा सर्कल हेड श्वेता शेरचन तुलाचन र न्युरोड पोखरा शाखा प्रमुख विजय चापागाईंले स्वास्थ्य चौकीका इन्चार्ज दुर्गाबहादुर थापा तथा वडाध्यक्ष अच्युत तिवारीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए।

बर्दियाको विद्यालयमा वाटर फिल्टर

बैंकले बर्दियाको श्री अंशुवर्मा माध्यमिक विद्यालयमा अध्ययनरत १ हजार १३ जनाभन्दा बढी विद्यार्थीलाई स्वच्छ तथा स्वस्थकर खानेपानी उपलब्ध गराउने उद्देश्यले यूभी वाटर फिल्टर तथा वाटर कुलर जडान गरेको छ।

भदौ १७ गते आयोजित कार्यक्रममा बैंकका नेपालगञ्ज सर्कल हेड अशोककुमार तिमिल्सेना र मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयका प्रधानाध्यापक पूमराज शर्मालाई उक्त सेवा हस्तान्तरण गरेका थिए।

जुम्लाको विद्यालयलाई स्मार्ट बोर्ड

त्यस्तै, दुर्गम क्षेत्रको चन्दननाथ नगरपालिका–१ स्थित श्री मालिका आधारभूत विद्यालयलाई बैंकले स्मार्ट बोर्ड उपलब्ध गराएको छ।

विद्यालयमा अध्ययनरत १११ भन्दा बढी विद्यार्थीलाई डिजिटल प्रविधिमा आधारित आधुनिक शिक्षा प्रदान गर्न सहयोग पुग्ने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराइएको बैंकले जनाएको छ।

भदौ ८ गते आयोजित कार्यक्रममा बैंकका जुम्ला शाखा प्रमुख कालीबहादुर रोकायले विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका थिए।

बैंकले स्वास्थ्य चौकीलाई प्रदान गरिएको सहयोगबाट बिरामीको उपचारमा सहजता आउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। विद्यालयमा गरिएको सहयोगले विद्यार्थीको पठनपाठन सहज बनाउनुका साथै प्रविधिमैत्री तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा योगदान पुग्ने बैंकको भनाइ छ।