याङ्गो राइडको ट्राफिक नियम उल्लङ्घन ३१ प्रतिशत घट्यो


काठमाडौँ ।

विश्वव्यापी प्रविधि कम्पनी Yango Group अन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्नो नयाँ सुरक्षा प्रतिवेदन सार्वजनिक गर्दै प्लेटफर्ममा रिपोर्ट भएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटनामा विश्वव्यापी रूपमा ३१ प्रतिशत कमी आएको जनाएको छ।

Yango Ride ले सार्वजनिक गरेको Safety Report 2024–2025 अनुसार प्रति १० लाख राइडमा रिपोर्ट हुने गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ९.८३ बाट घटेर ६.७६ मा पुगेका छन्।

यस्तै, लापरवाहीपूर्वक सवारी चलाउने घटनामा पनि विभिन्न क्षेत्रमा उल्लेखनीय कमी आएको रिपोर्टमा उल्लेख छ। अफ्रिकामा यस्ता घटना ३८ प्रतिशत, ल्याटिन अमेरिकामा २४ प्रतिशत तथा मध्यपूर्व र दक्षिण एसियामा ४७ प्रतिशतले घटेका छन्।

Yango Ride हाल मध्यपूर्व तथा उत्तर अफ्रिका (MENA), अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाका २५ भन्दा बढी देशमा सञ्चालनमा रहेको छ।

६४ हजार किलोमिटरमा एकपटक दुर्घटना वा ‘नियर मिस’
कम्पनीका अनुसार Yango Ride को विश्वव्यापी सञ्चालनमा औसत ६४ हजार किलोमिटरमा एकपटक मात्र दुर्घटना वा दुर्घटना हुनसक्ने घटना (Near Miss) रिपोर्ट हुने गरेको छ।

सुरक्षा सुधारका लागि कम्पनीले राइड सुरु हुनुअघि नै चालकको पहिचान, लाइसेन्स तथा आवश्यक कागजात प्रमाणीकरण गर्ने गरेको जनाएको छ। समय–समयमा सेल्फीमार्फत चालकको पहिचान पुष्टि गर्नुका साथै सम्भावित ठगी रोक्न एन्टी–फ्रड प्रणालीसमेत प्रयोग गरिँदै आएको छ।

राइडका क्रममा यात्रु र चालकले Safety Center प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यसमार्फत राइडको रुट परिवार वा विश्वासिला व्यक्तिसँग शेयर गर्न, समस्या आएमा सहायता लिन तथा SOS सुविधामार्फत आपत्कालीन सेवामा सम्पर्क गर्न सकिन्छ।

१७ हजारभन्दा बढी यात्रु अकाउन्ट ब्लक
Yango Ride को एन्टी–फ्रड प्रणालीले सन् २०२४–२०२५ मा सम्भावित ठगीका संकेत पहिचान गरी विश्वभर १७ हजार २७५ यात्रु अकाउन्ट ब्लक गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसले पार्टनर चालकलाई सम्भावित ठगी तथा हानिकारक अन्तरक्रियाबाट जोगाउन सहयोग पुगेको छ।

त्यस्तै, Yango Ride मा तत्काल सहायता सेवा २४ घण्टा, सातै दिन उपलब्ध रहेको छ। तत्काल सहायता आवश्यक पर्ने विश्वभरका ९० प्रतिशत घटनामा तालिमप्राप्त विशेषज्ञले पाँच मिनेटभित्र पहिलो सम्पर्क गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

राइडपछि हुने अनावश्यक सम्पर्कमा पनि कमी
यात्रु र चालकको व्यक्तिगत फोन नम्बर सुरक्षित राख्न प्रयोग गरिएको इन–एप कलिङ प्रविधिले राइडपछि हुने अनावश्यक सम्पर्क घटाउन समेत सहयोग गरेको कम्पनीको दाबी छ।

सन् २०२६ को प्रारम्भिक तथ्याङ्कअनुसार राइडपछि हुने सम्पर्कसम्बन्धी गुनासो पेरुमा ८१ प्रतिशत, कोलम्बियामा ७८ प्रतिशत र बोलिभियामा ७० प्रतिशतले घटेको छ। पाकिस्तानमा समेत यस्ता गुनासोमा ३१ प्रतिशत कमी आएको रिपोर्टमा उल्लेख छ।

अफ्रिका र ल्याटिन अमेरिकामा उल्लेखनीय सुधार
रिपोर्टअनुसार अफ्रिकामा लापरवाहीपूर्वक ड्राइभिङका घटनामा ३८ प्रतिशत कमी आएको छ। देशगत रूपमा कोट डी आइभोरमा ३५ प्रतिशत, जाम्बियामा ४९ प्रतिशत, अंगोलामा ३४ प्रतिशत र सेनेगलमा ३३ प्रतिशत कमी आएको कम्पनीले जनाएको छ।

त्यस्तै, ल्याटिन अमेरिकामा लापरवाहीपूर्वक ड्राइभिङका घटना २४ प्रतिशतले घटेका छन्। प्रति १० लाख राइडमा यस्ता घटना ११.७७ बाट घटेर ८.९१ मा पुगेका छन्।

पेरुमा नयाँ ड्राइभिङ निगरानी तथा गति नियन्त्रण प्रणाली लागू गरेपछि आक्रामक ड्राइभिङसम्बन्धी रिपोर्ट २५ प्रतिशत, दुर्घटना १५ प्रतिशत र चालक तथा यात्रुबीचको मौखिक विवादसम्बन्धी गुनासो ३० प्रतिशतले घटेको कम्पनीले जनाएको छ।

प्रविधिसँगै स्थानीय तहमा पनि सुरक्षा कार्यक्रम
Yango Ride ले सडक सुरक्षालाई प्रविधिमा मात्र सीमित नराखी विभिन्न देशका सरकारी निकाय, सडक सुरक्षा संस्था तथा स्थानीय समुदायसँग सहकार्य गर्दै आएको जनाएको छ।

पाकिस्तानमा Punjab Safe Cities Authority सँगको सहकार्यमा एपमार्फत आपत्कालीन सेवामा सम्पर्क गर्दा राइडको विवरण र लोकेसन डेटा प्रहरीसमक्ष स्वचालित रूपमा पठाउने व्यवस्था गरिएको छ।

अंगोलामा Integrated Public Security Center सँग सुरक्षा तथा सम्बन्धित घटनामा सहकार्य गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, जाम्बियामा Zambia Road Safety Trust सँगको सहकार्यमा सञ्चालन गरिएको ‘Safer Journeys to School’ कार्यक्रमअन्तर्गत लुसाकाका पाँच विद्यालयमा सडक सुधार तथा सडक सुरक्षा शिक्षा प्रदान गरिएको छ। उक्त कार्यक्रमबाट करिब ८ हजार विद्यार्थी लाभान्वित भएको कम्पनीले जनाएको छ।

‘सुरक्षा निरन्तर जिम्मेवारी हो’
Yango Ride का प्रमुख कार्यकारी अधिकृत Roman Karlash ले सुरक्षा कुनै एउटा सुविधा वा प्रविधिमा सीमित विषय नभई निरन्तरको जिम्मेवारी भएको बताएका छन्।

उनका अनुसार प्रविधि, विशेषज्ञको सहयोग र स्थानीय ज्ञानलाई प्रभावकारी रूपमा प्रयोग गर्दा राइडिङ सुरक्षामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ। यात्रु र पार्टनर चालकबीच हुने हरेक सम्पर्कलाई सुरक्षित र जिम्मेवार बनाउनु कम्पनीको प्राथमिकता रहेको उनले बताएका छन्।

Yango Ride ले आगामी दिनमा समेत राइड सुरु हुनुअघि, राइडका क्रममा र राइडपछि सुरक्षा सुनिश्चित गर्ने प्रणालीमा लगानी बढाउँदै दुर्घटना तथा जोखिमको रोकथाम, जोखिम पहिचान र तत्काल सहायता प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

कम्पनीले Safety Report मा समावेश तथ्याङ्कहरू यात्रुले एपभित्र उपलब्ध च्यानलमार्फत गरेका वर्गीकृत रिपोर्टमा आधारित रहेको जनाएको छ। विभिन्न क्षेत्र र समयावधिबीच तुलना गर्न सहज होस् भनेर घटनाको दरलाई प्रति १० लाख राइडका आधारमा प्रस्तुत गरिएको छ।