नेपाल एसबिआई बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख सहयोग


काठमाडौँ ।

नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको रकम तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगसमेत समेटेर संकलित रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविन मुनि बज्राचार्यलगायत बैंक तथा नेपाल सरकारका उच्च तहका अधिकारीहरूको उपस्थिति थियो।

बैंकले प्राकृतिक विपद्को कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ। बैंकका अनुसार उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनरुत्थानमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल एसबिआई बैंकले मानवीय सेवा, सहानुभूति र सामाजिक ऐक्यबद्धतालाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ। प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनरुत्थान, पुनःस्थापना तथा समग्र कल्याणमा आगामी दिनमा समेत आवश्यक सहयोग जारी राख्ने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।

३३ वर्षदेखि बैंकिङ सेवा

नेपाल एसबिआई बैंक लिमिटेडले नेपालमा विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकका अनुसार हाल देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।