बुद्ध रिजेन्सीले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने


काठमाडौँ ।

लुम्बिनीको सिद्धार्थनगर (भैरहवा) स्थित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। उक्त शेयरको कुल मूल्य १५ करोड रुपैयाँ बराबर हुनेछ।

साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। शेयर निष्काशनसम्बन्धी सम्झौतामा भदौ २५ गते लक्ष्मी सन्राइज क्यापिटल, नयाँ बानेश्वर, काठमाडौँमा दुवै पक्षबीच हस्ताक्षर भएको हो।

सम्झौतामा बुद्ध रिजेन्सी लिमिटेडका तर्फबाट सञ्चालक सुनिल अग्रवाल तथा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरिनेछ।

गौतम बुद्ध विमानस्थलको अगाडि पाँचतारे होटल
बुद्ध रिजेन्सी लिमिटेड सिद्धार्थनगरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा रहेको पाँचतारे लक्जरी होटल हो।

होटलले विश्वप्रसिद्ध Wyndham Hotels & Resorts सँग साझेदारी गर्दै Ramada by Wyndham ब्रान्डअन्तर्गत आतिथ्य सेवा प्रदान गर्दै आएको छ।

होटलमा पाहुनाको आराम र सुविधालाई ध्यानमा राखेर तयार गरिएका १०० भन्दा बढी कोठा उपलब्ध छन्। त्यस्तै, विवाह समारोहका लागि ठूला तथा भव्य बैंक्वेट हल र कर्पोरेट सम्मेलनका लागि दुईवटा छुट्टै हलको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

लुम्बिनी भ्रमण तथा धार्मिक पर्यटनका लागि आउने पर्यटकसँगै व्यवसायिक तथा कर्पोरेट पाहुनालाई लक्षित गर्दै होटलले आतिथ्य सेवा प्रदान गर्दै आएको छ।

सर्वसाधारणका लागि शेयर निष्काशनपछि कम्पनीको स्वामित्व संरचनामा सर्वसाधारणको सहभागिता बढ्नेछ भने होटलको व्यावसायिक विस्तारमा समेत थप पूँजी परिचालन हुने अपेक्षा गरिएको छ।