मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपीडितका लागि ३१ लाख सहयोग


काठमाडौँ ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि मोबाइल फोन आयातकर्ता संघ (MPIA) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघले आफ्ना सदस्य संस्थाबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि गएको पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको संघले जनाएको छ।

संकलित ३१ लाख रुपैयाँ संघका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

उक्त रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका कार्यमा प्रयोग हुने विश्वास संघले व्यक्त गरेको छ।

संघका अध्यक्ष दीपक कुमार मल्होत्राले प्राकृतिक विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले सहयोगका लागि सदस्य संस्थाहरूले देखाएको तत्परता र सद्भावप्रति धन्यवादसमेत व्यक्त गरे।

उनले विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने सरकारी अभियानमा निजी क्षेत्रबाट समेत सहयोग र सहकार्य आवश्यक रहेको बताए।