यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

३० लाखको चाउचाउ पनि वितरण


काठमाडौँ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा फुड्स प्रालि. र श्रीराम टोबाको प्रालि. ले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

दुवै कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई राहत तथा पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।

सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

३० लाखको चाउचाउ पनि वितरण

आर्थिक सहयोगसँगै कम्पनीले बाढीबाट अति प्रभावित क्षेत्रका नागरिकका लागि खाद्यान्न सहयोगसमेत गरेको जनाएको छ।

रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा तथा पीडितलाई राखिएका आश्रयस्थलमा करिब ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाइएको कम्पनीले जनाएको छ।

उक्त चाउचाउ सम्बन्धित निकायमार्फत प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा वितरण गरिएको थियो। आवश्यकता परे थप राहत सामग्री पठाएर पीडितलाई सहयोग गर्न आफूहरू तयार रहेको कम्पनीले जनाएको छ।

विपद्मा सहयोग जारी राख्ने प्रतिबद्धता

यशोदा ग्रुपले प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि आवश्यक अन्य सहयोग गर्नसमेत आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीका अनुसार व्यवसायिक गतिविधिसँगै विपद्को समयमा समुदाय र नागरिकप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्नु आफ्नो प्राथमिकतामा रहँदै आएको छ। प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन आगामी दिनमा समेत सक्दो सहयोग जारी राख्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।