काठमाडौँ । चिनियाँ विद्युतीय सवारी बजारमा लिपमोटर बीओथ्रीएक्स (B03X) ले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। चिनियाँ बजारमा A10 नामले समेत परिचित बीओथ्रीएक्स अगस्ट महिनामा चीनको दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बन्न सफल भएको हो।
कम्पनीका अनुसार अगस्टमा मात्रै बीओथ्रीएक्स का ३० हजार ६ सय ५२ युनिट बिक्री भएका छन्। बजारमा सार्वजनिक भएको १३५ दिनमै १ लाख युनिट बिक्रीको आँकडा पार गर्दै यो मोडल लिपमोटरको इतिहासमा सबैभन्दा छिटो उक्त बिक्री आँकडा हासिल गर्ने गाडीसमेत बनेको छ।
बीओथ्रीएक्स गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको थियो। त्यसको १३५ दिनपछि, अगस्ट ७, २०२६ मा यसले १ लाख युनिट बिक्रीको कोशेढुङ्गा पार गरेको कम्पनीले जनाएको छ।
बीओथ्रीएक्सको बढ्दो मागसँगै लिपमोटर लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी विद्युतीय सवारी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बनेको दाबी कम्पनीले गरेको छ।
पहुँचयोग्य मूल्यमा प्रिमियम प्रविधि
लिपमोटरका अनुसार बीओथ्रीएक्सको सफलताको मुख्य आधार पहुँचयोग्य ईभी सेग्मेन्टमा प्रिमियम प्रविधि र सुविधाको संयोजन हो। प्रदर्शन तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको यो मोडलमा १४५ किलोवाटको मोटर, ५५ kWh ब्याट्री र CLTC अनुसार ५०५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध छ।
फास्ट चार्जिङतर्फ पनि बीओथ्रीएक्स ले उल्लेखनीय क्षमता राख्छ। कम्पनीका अनुसार यसको ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १६ मिनेट मात्रै लाग्छ।
गाडीको इन्टेरियरमा डुअल हाई–परफर्मेन्स चिपसहितको उच्चस्तरीय प्रोसेसिङ क्षमता दिइएको छ। यसमा क्वालकम स्न्यापड्रैगन ८२९५ए ककपिट चिप समेत समावेश गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, बीओथ्रीएक्समा ५१० लिटरको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा यसको भण्डारण क्षमता १ हजार ६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ।
स्टेलान्टिसको विश्वव्यापी साथ
लिपमोटरलाई विश्वव्यापी रूपमा स्टेलान्टिस समूहको साथ रहेको छ। मासेराती, अल्फा रोमियो र प्युजो लगायत १४ प्रमुख अटोमोबाइल ब्रान्ड आबद्ध स्टेलान्टिसको साझेदारीसँगै लिपमोटरले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको छ।
कम्पनीका अनुसार लिपमोटर चीनको अग्रणी स्टार्टअप न्यू इनर्जी भेहिकल (NEV) ब्रान्डमध्ये एक हो र हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।
जुलाई र अगस्टमा लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी युनिट बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ।
लिपमोटरले हाल विश्वका ४५ भन्दा बढी देशमा २ हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।












प्रतिक्रिया