मेगन बोल्डिन नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत नियुक्त


काठमाडौँ ।

नेपालस्थित अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतका रूपमा स्वागत गरेको छ। आगामी केही महिना उहाँले नेपालमा बाढीबाट प्रभावित अमेरिकी नागरिकको सहयोग तथा राहत र पुनर्लाभका कार्यमा नेतृत्व गर्नुहुनेछ।

ढाकास्थित अमेरिकी दूतावासमा सन् २०२४ अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत बोल्डिन नेपाल आउनुभएको हो। वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वको व्यापक अनुभव रहेको दूतावासले जनाएको छ।

उहाँले युक्रेन, इराक, बङ्गलादेश तथा वासिङ्टनस्थित अपरेसन्स सेन्टरलगायतका स्थानमा जिम्मेवारी सम्हालिसक्नुभएको छ। राहत तथा पुनर्लाभका प्रयासलाई निरन्तरता दिँदै बोल्डिनले नेपाल सरकार तथा साझेदारहरूसँग सहकार्य गरी अमेरिकी दूतावासका गतिविधिलाई अघि बढाउनुहुनेछ।