बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटेलाइटमार्फत निःशुल्क इन्टरनेट दिने


काठमाडौं ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटेलाइट प्रविधिमार्फत निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।

एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (LEO) स्याटेलाइटमा आधारित उपकरण उद्धार, राहत तथा पुनःस्थापनामा संलग्न सरकारी निकायसँगको समन्वयमा आवश्यक र महत्वपूर्ण स्थानमा जडान गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार हालसम्म नुवाकोटका तीन महत्वपूर्ण स्थानमा उक्त प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ। बाढीबाट प्रभावित अन्य स्थानमा पनि उपकरण जडान गर्ने काम भइरहेको छ।

सञ्चार तथा इन्टरनेटको नियमित सञ्जाल अवरुद्ध भएका अवस्थामा समेत स्याटेलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने यो प्रविधि बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्य भइरहेका स्थानमा प्रयोग गरिने एनसेलले जनाएको छ।

स्याटेलाइटबाट प्राप्त इन्टरनेट सिग्नल जमिनमा जडान गरिएको उपकरणमार्फत वरपरका क्षेत्रमा वाइफाइका रूपमा वितरण गरिनेछ। यसबाट मोबाइल तथा सामान्य इन्टरनेट सेवा उपलब्ध नभएका स्थानमा समेत सन्देश आदानप्रदान, इन्टरनेट कल, सूचना पहुँच तथा राहत कार्यको समन्वय गर्न सकिने कम्पनीको भनाइ छ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक तथा सञ्चार पूर्वाधारमा क्षति पुगेका नुवाकोटका तीन स्थानमा स्याटेलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए। उनका अनुसार यसबाट उद्धार तथा राहत कार्यसँगै प्रभावित नागरिकलाई सम्पर्कमा रहन सहयोग पुग्नेछ।

एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई पहिलो दिनदेखि नै दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरिसकेको कम्पनीले जनाएको छ।

बाढीका कारण सडक तथा फाइबर नेटवर्कमा क्षति पुगेर नियमित दूरसञ्चार सेवा प्रभावित भएका बेला स्याटेलाइट प्रविधिलाई वैकल्पिक कनेक्टिभिटीका रूपमा प्रयोग गरिएको एनसेलले जनाएको छ।