काठमाडौं ।
रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ।
संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको र आसपासका जिल्लासमेत प्रभावित भएपछि राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ।
कुल सहयोग रकममध्ये संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट १६ लाख रुपैयाँ र कर्मचारीबाट संकलित १४ लाख ६ सय ६५ रुपैयाँ रहेको छ।
संस्थाले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित नागरिकको राहत तथा उद्धारमा प्रभावकारी रूपमा काम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
नगद सहयोगसँगै बाढी प्रभावित नागरिकलाई दैनिक उपभोगमा आवश्यक पर्ने सामग्रीसमेत वितरण गर्ने संस्थाले जनाएको छ।
फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रियस्तरको ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था हो। संस्थाले ४० जिल्लामा १५९ शाखामार्फत वित्तीय सेवा दिँदै आएको जनाएको छ। संस्थामा २ लाख ८४ हजार ग्राहक सदस्य आबद्ध रहेको पनि बताइएको छ।












प्रतिक्रिया