बाढी प्रभावित रसुवामा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्‍यो


काठमाडौं ।

भोटेकोशी नदीमा आएको बाढीबाट दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेब (Eutelsat OneWeb) को सहकार्यमा नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो।

डिशहोमका अनुसार भदौ २० गतेदेखि बाढीबाट बढी प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउन थालिएको हो। हाल सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूलाई लक्षित गरी निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको छ।

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको उक्त सेवा बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको वैकल्पिक कनेक्टिभिटीका रूपमा प्रयोग भइरहेको डिशहोमले जनाएको छ।

यसबाट सरकारी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी र राहत कार्यमा संलग्न निकायबीच सूचना आदान–प्रदान, समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने कम्पनीको भनाइ छ।

बाढीका कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध भएका क्षेत्रमा वैकल्पिक सञ्चार सुविधा उपलब्ध गराउन पहल गरिएको डिशहोमले जनाएको छ।

डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकता मूल्याङ्कन गर्ने जनाएको छ।

दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गरिने कम्पनीले जनाएको छ।