वल्र्डलिंकद्वारा बाढीपहिरो पीडितका लागि १ करोड १ लाख सहयोग


काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

हालैको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।

वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

बाढीका कारण वल्र्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीको पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आफ्नै संरचनामा क्षति भए पनि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन कम्पनीले बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

सडक, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुगेका कारण सेवा पुनःस्थापनामा चुनौती भए पनि कम्पनीका प्राविधिक तथा सम्बन्धित टोली प्रभावित क्षेत्रमा निरन्तर खटिएको वल्र्डलिंकले जनाएको छ।

विपद्को समयमा इन्टरनेट तथा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार, राहत र आपत्कालीन समन्वयका लागि महत्वपूर्ण माध्यम बन्ने भएकाले सेवा निरन्तर राख्न प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।

वल्र्डलिंकले विपद्का बेला आफ्नै पूर्वाधारमा क्षति व्यहोरे पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको जनाएको छ।

कम्पनीका अनुसार उक्त सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।