एमभी दुगड ग्रुपद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग


काठमाडौं ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।

रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

एमभी दुगड ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समेटिएको १ करोड ११ लाख रुपैयाँको चेक भदौ २२ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।

ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले अर्थमन्त्रीलाई उक्त चेक हस्तान्तरण गरेका थिए।

ग्रुपले प्राकृतिक विपद्बाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्का कारण विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासप्रति पनि ग्रुपले सम्मान व्यक्त गरेको छ।

ग्रुपले विपद्को सामना गर्न नेपाल सरकारसँग सहकार्य गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने जनाएको छ।

यसैबीच, जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको असर न्यूनीकरण गर्ने उद्देश्यले ग्रुपले २०७८ सालदेखि देशव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी तथा विभिन्न राजमार्ग, विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपिएको ग्रुपको दाबी छ।

ग्रुपले आगामी दिनमा पनि वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।