काठमाडौं ।
युनिलिभर नेपाल लिमिटेडले हालैको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको छ।
बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत कम्पनीले उपलब्ध गराएको छ। कम्पनीका अनुसार करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरिएको छ, जसको मूल्य करिब १ करोड रुपैयाँ रहेको छ।
यससँगै युनिलिभर नेपालले बाढी प्रभावित समुदायका लागि कुल करिब ६ करोड रुपैयाँ बराबरको आर्थिक तथा सामग्री सहयोग गरेको जनाएको छ।
बाढीपछि पानी घट्दै गए पनि प्रभावित क्षेत्रमा प्रदूषण तथा विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने भएकाले व्यक्तिगत तथा वातावरणीय सरसफाइलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
प्रभावित परिवारका लागि लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायतका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको छ। ती सामग्रीले व्यक्तिगत सरसफाइ कायम राख्नुका साथै घर तथा वरपरको वातावरण स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
उनले नेपालले कठिन परिस्थितिमा पनि धैर्यता र सहनशीलता देखाउँदै आएको उल्लेख गर्दै जारी राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले योगदान गरेको बताए।
कम्पनीले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा कल्याणमा योगदान पुर्याउने उद्देश्यले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।












प्रतिक्रिया