काठमाडौं ।
कुमारी बैंक लिमिटेड वित्तीय कार्बन लेखांकन साझेदारी (पीसीएएफ) मा आबद्ध भएको छ। बैंकले वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा व्यवस्थापनमा थप पारदर्शिता कायम गर्ने उद्देश्यले उक्त विश्वव्यापी पहलमा सदस्यता लिएको हो।
पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक रूपमा प्रकाशन गर्न पीसीएएफले तय गरेका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधि प्रयोग गर्नेछ।
बैंकका अनुसार यो पहलले जलवायु परिवर्तनसम्बन्धी तथ्यांक व्यवस्थापन, जोखिम मूल्यांकन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ। बैंकले आफ्ना वित्तीय गतिविधिको जलवायु प्रभावबारे प्राप्त तथ्यांकलाई आगामी वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी रणनीति निर्माणमा उपयोग गर्ने लक्ष्य लिएको छ।
न्यून–कार्बन तथा जलवायु उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले पीसीएएफमा आबद्धता बैंकको दिगोपन यात्रामा महत्वपूर्ण कदम भएको बैंकले जनाएको छ।
कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए। वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे तथ्यगत जानकारी प्राप्त हुँदा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा दिगो र उत्थानशील अर्थतन्त्रतर्फ अघि बढ्न तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्ने उनको भनाइ छ।
ऋण तथा लगानीबाट हुने उत्सर्जन मापन गरिने
वित्तीय कार्बन लेखांकन साझेदारी वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो। यसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा सार्वजनिक विवरण प्रस्तुत गर्न वित्तीय संस्थालाई साझा मापदण्ड उपलब्ध गराउँदै आएको छ।
सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको पीसीएएफमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध भइसकेका छन्। सहभागी संस्थाहरूले वित्तीय क्षेत्रका लागि हरितगृह ग्यास उत्सर्जनको लेखांकन तथा प्रतिवेदनसम्बन्धी विश्वव्यापी मापदण्ड विकास तथा कार्यान्वयन गर्दै आएका छन्।
पीसीएएफमा आबद्ध भएपछि कुमारी बैंकले आफ्ना ऋण तथा लगानीसँग सम्बन्धित उत्सर्जन मापन गरी त्यसको विवरण सार्वजनिक गर्ने प्रक्रियालाई अघि बढाउनेछ।
दिगो वित्तमा जोड
कुमारी बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्नुका साथै बैंकको सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु पक्षलाई थप एकीकृत गर्ने जनाएको छ।
नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउने उद्देश्यले सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने बैंकको भनाइ छ।
देशभर व्यापक बैंकिङ सञ्जाल रहेको कुमारी बैंकसँग हाल २७९ शाखा, २९६ एटीएम, ४१ विस्तारित काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भुक्तानी केन्द्र रहेको बैंकले जनाएको छ। बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड सेवासमेत प्रदान गर्दै आएको छ।
ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तलाई प्राथमिकतामा राख्दै नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्ने बैंकले जनाएको छ।












प्रतिक्रिया