भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख सहयोग


काठमाडौं ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

बाढीका कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ। बैंकले विपद्मा परी ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समेत उपस्थिति थियो।

आफ्नै शाखा पनि बाढीबाट प्रभावित

भोटेकोशी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ। शाखा कार्यालयमा क्षति पुगे पनि बैंकले प्रभावित क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ।

बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट क्षेत्रमा बाढी प्रभावित परिवारलाई चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायतका खाद्यान्न सामग्री वितरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। स्वास्थ्य शिविर सञ्चालनदेखि सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ।

२० लाखभन्दा बढी ग्राहकलाई सेवा

सिटिजन्स बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको जनाएको छ। बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको थियो।

बैंकका अनुसार हाल ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।