इन्डोनेशियामा भएको शक्तिशाली ज्वालामुखी विस्फोटपछि हवाई यातायात प्रभावित हुँदा करिब एक लाख ५० हजार यात्रु अलपत्र परेका छन्। ज्वालामुखीबाट निस्किएको खरानी र बढ्दो जोखिमका कारण देशका विभिन्न ६ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अनाक क्राकाताउ द्वीप क्षेत्रमा भएको विस्फोटपछि राजधानी नजिकै रहेको सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलसमेत प्रभावित भएको बताइएको छ। अधिकारीहरूका अनुसार हालसम्म सयौं उडान प्रभावित भएका छन् भने करिब ४६७ वटा उडानको तालिका अवरुद्ध भएको छ।
इन्डोनेशियाका यातायात मन्त्री डुडी पुर्वागान्धीले उडान रद्दबाट प्रभावित यात्रुहरूको व्यवस्थापनलाई प्राथमिकता दिन सम्बन्धित वायुसेवा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ। यात्रुहरूलाई टिकट रकम फिर्ता गर्ने तथा वैकल्पिक उडानको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
विमानस्थलमा अनावश्यक भीड हुन नदिन यात्रुहरूलाई आफ्नो उडानको अवस्थाबारे समयमै जानकारी गराउन एयरलाइन्सलाई भनिएको छ।
ज्वालामुखी विस्फोटका कारण सिङ्गापुरसँगको हवाई सम्पर्क मात्र नभई दोहा, सिड्नी, क्वालालम्पुरलगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यतर्फका उडानसमेत प्रभावित भएका छन्।
गत शुक्रवार रातिदेखि ज्वालामुखी क्षेत्रमा गतिविधि तीव्र बनेको थियो। विस्फोटसँगै लाभा बाहिर निस्किनुका साथै लगातार भूकम्पीय कम्पन र ठूलो आवाज सुनिएको स्थानीय अधिकारीहरूले बताएका छन्। शनिबार बिहान पनि थप दुई पटक विस्फोट भएको जनाइएको छ।
मौसम विज्ञान निकायका अनुसार ज्वालामुखीबाट निस्किएको खरानी जाभातर्फ करिब ६ हजार मिटर र सुमात्रातर्फ १५ हजार मिटरसम्मको उचाइमा पुगेको थियो। विस्फोटका क्रममा बाहिरिएका केही ठूला चट्टानी टुक्रा ७० देखि ९० मिटर लम्बाइसम्मका रहेको वैज्ञानिकहरूको अनुमान छ।
‘रिङ अफ फायर’ क्षेत्रमा इन्डोनेशिया
इन्डोनेशिया विश्वकै सबैभन्दा बढी ज्वालामुखी र भूकम्पीय गतिविधि हुने क्षेत्रमध्ये एक हो। यो देश प्रशान्त महासागर वरिपरि फैलिएको ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ।
दक्षिण अमेरिकाको दक्षिणी क्षेत्रदेखि न्युजिल्यान्डसम्म फैलिएको करिब ४० हजार किलोमिटर लामो यस भूगर्भीय क्षेत्रमा विश्वका करिब ९० प्रतिशत भूकम्प जाने गर्छन्।
विश्वमा रहेका सक्रिय ज्वालामुखीमध्ये करिब ७५ प्रतिशत, अर्थात् झन्डै ४५२ वटा सक्रिय ज्वालामुखी पनि यही क्षेत्रमा रहेका छन्। विभिन्न टेक्टोनिक प्लेटहरूको निरन्तर गतिविधिका कारण यस क्षेत्रलाई विश्वको सबैभन्दा सक्रिय भूगर्भीय क्षेत्र मानिन्छ।
हाल इन्डोनेशियाली अधिकारीहरूले ज्वालामुखीको गतिविधिलाई निरन्तर निगरानी गरिरहेका छन् भने प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।












प्रतिक्रिया