नेपालसँगै उभिँदै चितवन को–ई ग्रुप, विपद् राहतका लागि डेढ करोड सहयोग


काठमाडौँ।

देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि चितवन को–ई ग्रुपले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।

ग्रुपका अनुसार उक्त सहयोगमध्ये मनकामना दर्शन प्रालिले १ करोड २५ लाख रुपैयाँ र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ प्रदान गरेका छन्।

चितवन, गोरखा तथा आसपासका क्षेत्रसँग लामो समयदेखि सामाजिक तथा व्यावसायिक सम्बन्ध रहँदै आएको जनाउँदै ग्रुपले विपद्का बेला प्रभावित समुदायको साथमा उभिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।

ग्रुपका दिवंगत संस्थापक लक्ष्मणबाबु श्रेष्ठले व्यवसायको सफलता समुदायको सहयोग, विश्वास र सम्बन्धसँग जोडिएको हुने भएकाले कठिन परिस्थितिमा समुदायप्रति जिम्मेवार हुनुपर्ने मान्यता राख्दै आउनुभएको थियो। उहाँले स्थापित गर्नुभएको सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिँदै विपद्को समयमा सहयोग गरिएको ग्रुपले जनाएको छ।

ग्रुपका अनुसार सहयोगबाट विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, पुनर्स्थापना तथा पुनर्निर्माणका काम अघि बढाउन र प्रभावित समुदायलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, चितवन को–ई ग्रुपले विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान र आभार व्यक्त गरेको छ।

विपद्को समयमा एकअर्काको साथ र सहयोग नै सामूहिक शक्तिको आधार भएको उल्लेख गर्दै ग्रुपले एकताबद्ध प्रयासबाट प्रभावित समुदायको पुनर्स्थापना तथा पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सकिने विश्वास व्यक्त गरेको छ।