मेसी र रोनाल्डोलाई एकै टोलीबाट खेलाउन तयारीमा


लन्डन, (एजेन्सी) ।

लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो पहिलोपटक एउटै टोलीबाट खेलाउने तयारीमा रहेको अर्जेन्टिनाको मिडियाले पुष्टि गरेको छ । मिडियाले बताएअनुसार कार्लोस टेभेजले मेसी र रोनाल्डोलाई यही दिसेम्बरमा खेलाउने तयारी गरिरहेका हुन् । टेभेजले २०२२ जुनमा संन्यास लिएका थिए ।

४२ वर्षीय टेभेजले म्यानचेस्टर यूनाइटेडका लागि खेल्दा रोनाल्डो टोली साथी थिए । २००७–०८ र २००८–०९ को सिजनमा म्यानचेस्टरका लागि सँगैं खेल्दा उनीहरूले प्रिमियर लिग पनि जितेका थिए । साथै टोली लगातार दुई सिजनसम्म च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको थियो ।
यस्तै, अर्जेन्टिनाका लागि खेल्दा उनको टोली साथी मेसी थिए । मेसीसँग उनले २००४ को ओलम्पिक फुटबल खेले । जसमा, अर्जेन्टिनाले स्वर्ण पदक जितेको थियो । यसैगरी, २००४, २००७ र २०१५ मा कोपा अमेरिकामा उपविजेता हुँदा पनि उनीहरूले सँगैं खेलेका थिए । उनीहरूले दुई विश्वकप पनि सँगैं खेलेका थिए ।

यही अविस्मरणीय उपलब्धिहरूको कारण आधिकारिक रूपमा संन्यास लिने विदाई खेलको लागि रोनाल्डो र मेसीलाई आमन्त्रण गरेर विदाई पनि अविस्मरणीय बनाउने टेभेजले बताए । यसबारे अर्जेन्टिनाको टिवाईसी मिडियाले बतायो –टेभेज यस दिसेम्बरमा आफ्नो विदाई खेल खेल्नेछन् । उनले मेसी र रोनाल्डो दुबै जनालाई यसमा सामेल हुनका लागि आमन्त्रित गर्ने योजना बनाएका छन् ।

क्लबले अहिले पूरा जानकारी उपलब्ध नभएको पनि बताएको छ । तर, योजनामा काम भइरहेको छ र यो दुबै विश्व स्तरीय सुपरस्टार मैदानमा एकसाथ खेल्न सक्ने पनि क्लबले जनायो । टिवाईसीले बतायो–यो योजना सफल भएमा सबैलाई आश्चर्यचकित पार्नेछ । विश्वभरिका फुटबल प्रेमीहरू मात्रै होइनन् पूरा विश्वले मेसी र रोनाल्डोले एकै साथ एउटै टोलीबाट खेलेको हेर्न पाइनेछन् । यो अविश्वसनीय सानदार क्षण हुनेछ पनि ।
मेसीले केही दिनअघि मात्रै आधिकारिक रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ३९ वर्षीय मेसी हाल अमेरिकामा इन्टर मायामीबाट खेलिरहेका छन् । यस्तै, रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट संन्यास लिएको अहिलेसम्म घोषणा गरेका छैनन् । ४१ वर्षीय रोनाल्डो हाल साउदी लिगमा खेलिरहेका छन् । अहिले उनीहरू दुबै जना आफ्नो करिअरमा १ हजार गोलसम्म पुग्ने होडमा छन् । यहाँसम्म पुग्न मेसीका लागि ७३ र रोनाल्डोका लागि २२ गोलको आवश्यक छ ।