काठमाडौं।
एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रमा सहज सञ्चार कायम राख्न तथा खोज, उद्धार र राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म निःशुल्क सेवा उपलब्ध हुनेछ।
यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा दिने घोषणा गरेको थियो। त्यसपछि सेवाको अवधि थप सात दिन बढाएर भदौ १९ गतेसम्म पुर्याइएको थियो।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा प्रभावित समुदाय र उद्धार तथा राहतमा खटिएका टोलीबीच सञ्चार सहज बनाउन निःशुल्क सेवा थप गरिएको बताए।
उनका अनुसार बाढीका कारण अवरुद्ध भएका एनसेलका २७ टावरमध्ये ९२ प्रतिशत अर्थात् २५ वटा टावर पुनः सञ्चालनमा आइसकेका छन्।
बाढीका कारण रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ। रसुवाकै उत्तरगया, तिरुमा रहेको अर्को टावरमा आवश्यक उपकरण हेलिकप्टरमार्फत पुर्याएर सेवा सञ्चालन गर्ने तयारी भइरहेको एनसेलले जनाएको छ।
कम्पनीले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै खोज, उद्धार, राहत तथा जनचेतनामूलक कार्यमा सहयोग गर्दै आएको जनाएको छ। सम्बन्धित निकायका सूचनाहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत समेत प्रवाह गरिँदै आएको एनसेलको भनाइ छ।
यसैबीच, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।












प्रतिक्रिया