कान्तिपुर भेटद्वारा उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग


काठमाडौं ।

भेटेरिनरी क्षेत्रमा अग्रणी कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

देशका विभिन्न भागमा हालै आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।

कान्तिपुर भेट ग्रुपकी अध्यक्ष सुना सुवेदीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भोटेकोशीमा बाढी आएको दिनदेखि नै विपद् प्रभावित क्षेत्रमा निःशुल्क भेटेरिनरी औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सोही प्रतिबद्धताअनुसार कान्तिपुर भेटले नेपाल भेटेरिनरी एसोसिएसनलगायत विभिन्न निकायमार्फत लाखौं रुपैयाँ बराबरका भेटेरिनरी औषधि निःशुल्क उपलब्ध गराइसकेको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा पशुपन्छीको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कान्तिपुर भेटले विपद्को समयमा प्रभावित समुदाय तथा पशुपन्छीको स्वास्थ्य र सुरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।