लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग


काठमाडौं।

लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारसमेत प्रभावित भएका छन्।

तत्कालीन उद्धार तथा राहतका प्रयासहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला विपद्बाट प्रभावित समुदायलाई दीर्घकालीन सहयोग आवश्यक रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त योगदानमार्फत प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्किन तथा पुनर्निर्माणका प्रयासलाई अघि बढाउन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्‍याउने प्रयास गरिएको हो।

लक्ष्मी सनराइज बैंकले विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सम्पूर्णप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको छ।

बैंकले आफू विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।