काठमाडौं।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल निर्जीवन बीमा व्यवसायी संघ र आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्।
संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो। रकम हस्तान्तरणका क्रममा सम्बन्धित बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति रहेको संघले जनाएको छ।
संघका अनुसार सहयोग गर्ने संस्थामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन्।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा संकलन गरेको २६ लाख २३ हजार १८ रुपैयाँसमेत सहयोग रकममा समावेश गरी हस्तान्तरण गरिएको छ।
एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै बाढी प्रभावितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेको संघले जनाएको छ। अन्य बीमा कम्पनीहरूबाट पनि सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ।
रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री वाग्लेले देश संकटमा परेको समयमा बीमा कम्पनीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
बीमा दाबी भुक्तानीलाई प्राथमिकता
नेपाल निर्जीवन बीमा व्यवसायी संघले भोटेकोशी बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा अन्य सम्पत्तिको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
संघले बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धार टोलीप्रति आभार व्यक्त गरेको छ।
संघले विपद्का बेला नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा बीमा क्षेत्रले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सहयोग गरिएको जनाएको छ।












प्रतिक्रिया