भोटेकोसी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग


काठमाडौं।

रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड सहयोग गर्ने भएको छ।

एनसेलले सरकारको आह्वानमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेकाले सहयोग गरिएको कम्पनीले जनाएको छ।

एनसेलले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता तथा प्रभावितहरूको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ।

कम्पनीले बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पनि निःशुल्क उपलब्ध गराएको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई तीन दिनसम्म भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको छ।

निःशुल्क सञ्चार सेवाले प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज हुने अपेक्षा एनसेलले गरेको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन्।

उनले उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले रु. १ करोड सहयोग गर्ने निर्णय गरिएको जानकारी दिइन्।

एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग तथा सहकार्यलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ।