काठमाडौं।
एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ।
कम्पनीका अनुसार शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा थप एक सातासम्म निःशुल्क डेटा, अलनेट भ्वाइस तथा एसएमएस सेवा उपलब्ध हुनेछ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले तीन दिनका लागि निःशुल्क डेटा, अलनेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त तीनदिने अवधि शुक्रबार सकिँदैछ।
विपद्का बेला प्रभावित नागरिक, उद्धार तथा राहतमा खटिएका टोली र अन्य सरोकारवालाबीच सूचना आदानप्रदान तथा समन्वय सहज बनाउन निःशुल्क सञ्चार सेवा थप गरिएको एनसेलले जनाएको छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को कठिन समयमा प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय गर्न कम्पनीको पहलले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
१८ वटा मोबाइल टावर पुनःसञ्चालन
बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका एनसेलका १८ वटा मोबाइल टावर पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। थप नौवटा प्रभावित टावर पुनःसञ्चालनका लागि काम भइरहेको पनि एनसेलले जानकारी दिएको छ।
यसैबीच, खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गरिएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। आवश्यक सूचना एसएमएस तथा सामाजिक सञ्जालका माध्यमबाट समेत सम्प्रेषण गर्दै आएको एनसेलले जनाएको छ।












प्रतिक्रिया