बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन


काठमाडौं ।

एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढाएको छ। यससँगै प्रभावित क्षेत्रमा अब थप एक सातासम्म यी सेवा निःशुल्क उपलब्ध हुनेछन्।

यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। उक्त अवधि आज सकिँदैछ।

कम्पनीका अनुसार प्रभावित समुदायलाई परिवार, आफन्त तथा खोज, उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्क तथा समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सेवा अवधि थप गरिएको हो।

बाढीका कारण अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ। थप ९ वटा प्रभावित टावर पुनः सञ्चालनका लागि काम भइरहेको कम्पनीको भनाइ छ।

यसैगरी, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गरेको कम्पनीले जनाएको छ। एनसेलले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गर्दै आएको छ।