काठमाडौं ।
नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
बैंकले प्रतिऋणपत्र रु.१,०००/- अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने रु. ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु. २ अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तवर (Private Placement)बाट बिक्री गर्ने गरिनेछ ।
साथै १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ६० करोड ऋणपुँजी रकम (सोमध्ये ५% अर्थात ६५,००० कित्ता) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ ।












प्रतिक्रिया