विपद् प्रभावितका लागि नेरूडे मिर्मिरेको २८ लाख सहयोग


काठमाडौं ।

भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रुपैयाँ सहयोग गरेको छ।

संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेललगायतको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो।

विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामनासमेत संस्थाले गरेको छ।

सहयोग रकम हस्तान्तरणका क्रममा अध्यक्ष राजकुमार राईले विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने बताए। लघुवित्त संस्था समुदाय र सर्वसाधारणको घरदैलोसम्म पुगेर सेवा दिने भएकाले संकटका बेला पनि समाजसँगै उभिनुपर्ने उनको भनाइ थियो।

प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले संस्थाले वित्तीय कारोबारमा मात्र सीमित नभई वित्तीय साक्षरता, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाए।

संस्थाका सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको सामूहिक योगदानबाट सहयोग रकम जुटाइएको जनाइएको छ।

नेरूडे मिर्मिरेले विपद्को कठिन समयमा भाइचारा, सहकार्य र मानवीय संवेदनाका साथ सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ। संस्थाले आगामी दिनमा पनि वित्तीय सेवासँगै सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।