दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग


काठमाडौं।

विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ। उक्त सहयोग रकम फाउन्डेसनका बोर्ड सदस्यहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

फाउन्डेसनले विपद्को यस कठिन घडीमा राहत तथा उद्धार प्रयासमा योगदान गर्ने अवसर प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरेको छ। साथै, संकटको समयमा प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न नेपाल सरकारले गरेको शीघ्र पहल र प्रभावकारी स्रोत परिचालनप्रति प्रशंसा व्यक्त गरेको छ। नेपाल तथा विश्वभरका व्यक्ति तथा संस्थाहरूबाट प्राप्त अभूतपूर्व सहयोग, ऐक्यबद्धता र मानवीय संवेदनाप्रति पनि फाउन्डेसनले आभार व्यक्त गरेको छ।

यस सहयोगको भावना दया फाउन्डेसनका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य–मान्यता र जीवनदृष्टिबाट प्रेरित रहेको फाउन्डेसनले जनाएको छ। उहाँ समुदायसँग बाँड्नु प्रत्येक संवेदनशील व्यक्तिको आधारभूत जिम्मेवारी तथा जीवनप्रतिको कृतज्ञताको अभिव्यक्ति हो भन्ने विश्वास राख्नुहुन्थ्यो।

यस विपद्का कारण प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारप्रति दया फाउन्डेसन हार्दिक सहानुभूति व्यक्त गर्दछ र प्रभावित समुदायको पीडा न्यूनीकरण तथा पुनःस्थापनाका लागि निरन्तर सहकार्य, ऐक्यबद्धता र मानवीय सहयोगको अपेक्षा गर्दछ।