काठमाडौं।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र आबद्ध कम्पनी तथा कर्मचारीहरूले ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ सहयोग गरेका छन्।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। इप्पानमार्फत संकलित रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
गत भदौ १० गते आएको बाढीबाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको हो।
कम्पनीका अनुसार कुल सहयोगमध्ये बुटवल पावर कम्पनी र यसका कर्मचारीबाट ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान भएको छ। यसमध्ये कम्पनीको २२ लाख तथा व्यवस्थापन र कर्मचारीको ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनी समूहअन्तर्गतका विभिन्न संस्थाले पनि सहयोग गरेका छन्। न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार तथा खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
बुटवल पावर कम्पनीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीपछि सम्पर्कविहीन नागरिकहरू सकुशल भेटिने अपेक्षा व्यक्त गरेको छ।












प्रतिक्रिया