बाढीपीडितका लागि बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग


काठमाडौं।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। मंगलबार आयोजित कार्यक्रममा बिजी ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे।

रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको ग्रुपले जनाएको छ।

बिजी ग्रुपअन्तर्गतका विभिन्न योजना तथा कम्पनीबाट संकलित रकम विपद् राहतका लागि प्रदान गरिएको हो। ग्रुपका कार्यकारी अध्यक्ष लामिछानेले बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो क्षति भएको भन्दै सहयोग रकमले राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरे।

ऊर्जा तथा जलविद्युत् क्षेत्रमा समेत लगानी गर्दै आएको बिजी ग्रुपअन्तर्गत पाँचभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न व्यवसायिक उद्योग र कम्पनी सञ्चालनमा रहेका छन्। प्रबन्ध सञ्चालक कार्की र कार्यकारी अध्यक्ष लामिछाने निजी क्षेत्रका व्यवसायिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट सहयोग जुटिरहेको छ। बिजी ग्रुपले पनि विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वअन्तर्गतको दायित्व भएको जनाएको छ।