बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि नेशनल लाइफको १ करोड ५१ लाख सहयोग


काठमाडौं।

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको आकस्मिक बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण प्रभावित परिवारको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थान आवश्यक देखिएको छ।

बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेशनल लाइफले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा सहयोग गर्न आफ्ना कर्मचारी र अभिकर्तालाई आग्रहसमेत गरेको छ।

कम्पनीले प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।