काठमाडौं।
काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन्।
अमात्यका प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने जनाइएको छ।
भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण हजारौँ मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी छ।
बाढीले घर तथा सम्पत्तिमा क्षति पुर्याएपछि ठूलो संख्यामा नागरिक घरबारविहीन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता बढिरहेका बेला अमात्यले राहत कोषमा उक्त रकम सहयोग गरेकी हुन्।
बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताइएको छ।












प्रतिक्रिया