काठमाडौं।
कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
बाढीबाट प्रभावित करिब २०० परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, बिस्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा, पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री बैंकले उपलब्ध गराएको हो।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरिसकिएको छ।
बैंकले सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा पुगेर खाद्य सामग्री हस्तान्तरण गरेको हो। बैंकका तर्फबाट मार्केटिङ एन्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्माले सामग्री हस्तान्तरण गरेकी थिइन्।
हस्तान्तरण कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना, कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति रहेको थियो।
देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ।
राहत कोषमा सहयोग गर्न अपिल
यसैबीच, बैंकले विपद्को समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका इच्छुक संघसंस्था र व्यक्तिहरूलाई सक्दो सहयोग गर्न अपिल गरेको छ।
बैंकले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग गर्न बैंक खाता तथा क्यूआर कोडसमेत सार्वजनिक गरेको जनाएको छ।
विपद्का समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी निकाय, संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बैंकले जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय कार्यमा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।












प्रतिक्रिया