काठमाडौं।
भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि शारदा ग्रुपले विभिन्न सहयोगका कार्यक्रम घोषणा गरेको छ।
ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिपछि प्रभावित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले अर्थमन्त्रीको कार्यालयमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका छन्। ग्रुपका विभिन्न कम्पनीको तर्फबाट रकम उपलब्ध गराइएको हो।
सहयोग रकममध्ये पशुपति खाद्य तेल उद्योग प्रालिले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिले १५ लाख, प्रिमियर वायर्स प्रालिले १५ लाख र प्रिमियर डिस्टिलरी लिमिटेडले १० लाख रुपैयाँ उपलब्ध गराएका छन्।
खाद्य सामग्री र अक्सिजन सहयोग
आर्थिक सहयोगसँगै ग्रुपले तत्कालीन राहतका लागि खाद्य तथा पेय पदार्थसमेत उपलब्ध गराएको छ। गुडलाइफलगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट र जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका सामग्री नेपाल सरकारलाई उपलब्ध गराइएको ग्रुपले जनाएको छ।
उक्त सामग्री बाढी तथा पहिरोबाट प्रभावित र तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ।
यस्तै, प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी आवश्यकता पूरा गर्न शारदा ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ।
शिवम् सिमेन्टले गाउँ पुनर्निर्माणमा सघाउने
शारदा ग्रुपद्वारा प्रवर्द्धित शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २१ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।
त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमध्ये एक गाउँको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ।
यसअघि शिवम् सिमेन्टले प्रभावित परिवारको आवास पुनर्निर्माणमा समेत सहयोग गर्ने घोषणा गरेको थियो।
काठमाडौं र विराटनगरमा रक्तदान
बाढी तथा पहिरोमा घाइते भएकाहरूका लागि रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ।
रक्तदानबाट रक्त बैंकमा आवश्यक रगतको उपलब्धता बढाउनुका साथै घाइतेको उपचार तथा उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले विपद्मा परी परिवार तथा आफन्त गुमाएका सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै संकटको समयमा प्रभावित समुदायसँग उभिनु आफ्नो जिम्मेवारी भएको बताए।
उनले ग्रुपको सहयोग तत्काल आवश्यक रहेका नागरिकसम्म पुर्याउनुका साथै सरकारको राहत, उद्धार र पुनर्निर्माण अभियानमा योगदान गर्ने उद्देश्य रहेको बताए।
शारदा ग्रुपले विपद् प्रभावित नागरिकप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभारसमेत व्यक्त गरेको छ। आवश्यकताअनुसार आगामी दिनमा पनि राहत, उद्धार र पुनर्निर्माणमा सहयोगलाई निरन्तरता दिने ग्रुपले जनाएको छ।
शारदा ग्रुप नेपालका विविधीकृत व्यावसायिक समूहहरूमध्ये एक हो। व्यापार, उत्पादन, वितरण र लगानीलगायत विभिन्न क्षेत्रमा सक्रिय ग्रुपले आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा समेत योगदान गर्दै आएको जनाएको छ।












प्रतिक्रिया