काठमाडौं।
भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले सहयोग घोषणा गरेका छन्।
रसुवासहित बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले प्रभावित परिवारको आवास पुनर्निर्माणमा सहयोग गर्ने जनाएको हो।
कम्पनीले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त सिमेन्ट उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
यसैगरी, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा उपयोग हुने जनाइएको छ।
कम्पनीले विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन उक्त सहयोगले योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
विपद्को कठिन अवस्थामा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापनाका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता शिवम् सिमेन्टले जनाएको छ।












प्रतिक्रिया