भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग


काठमाडौं।

सिद्धार्थ बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका अध्यक्ष राहुल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बश्यालले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको बैंकले विपद्का बेला प्रभावित नागरिकको पीडामा साथ दिन र राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउन सहयोग गरिएको जनाएको छ।

बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना तथा जनजीवन सामान्य बनाउन भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ।

सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकता अनुसार सामाजिक दायित्वअन्तर्गत मानवीय तथा राहतका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।